हेटौंडा – नेपाल सरकारले देशभरि दादुरा-रुबेला रोगको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा-रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष सरकारको छ ।
फागुन १३ गतेदेखि २५ दिनसम्म सञ्चालन हुने यस खोप अभियानअन्तर्गत भारतसँग सीमा जोडिएका र दादुरा-रुबेलाको अत्यधिक सङ्क्रमण देखिएका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लागरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने मन्त्रालयको लक्ष छ । त्यसैगरी ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुनेछन्।
जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिसकिएको छ। नेपाल सरकारले सन् २०२६ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । सोही अनुरूप खोप कभरेज बढाउन यो देशव्यापी खोप अभियान गर्न लागेको हो ।
बागमती प्रदेशमा भने फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत प्रदेशभर ८ लाख ४९ हजार ३ सय २५ बालबालिकालाई खोप लगाउने लक्षसहित बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय अगि बढेको छ । बिहीबार सञ्चारकर्मीहरूसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै एक हप्ताको अवधिमा प्रदेशका करिब २ हजार ९ सय केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन निर्देशनालय तयारी सम्पन्न भएको जनाइएको छ ।
प्रदेशका चितवन, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको छ भने अन्य ९ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप दिइने छ । ४ जिल्लामा विद्यालय र नियमित केन्द्रहरूमा खोप सेवा उपलब्ध हुनेछ भने बाँकी जिल्लाहरूमा नियमित र थप केन्द्रहरूबाट खोप सेवा दिइने स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बागमती प्रदेशका ९ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित भएको नेपाल सरकारले २०७६/७७ मा चलाएको अभियानपछि गरिएको एन.डी.एच.एसको तथ्याङ्कमा छ । उक्त तथ्याङ्क अनुसार नेपालमा दादुराको पूर्ण खोप लगाउने बालबालिका सन् २०१६ सम्म ७८ प्रतिशतबाट सर २०२२मा आइपुग्दा ८० प्रतिशत पुगेको छ भने १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । त्यस्तै, ४ प्रतिशत बालबालिकाले खोप नै नलगाएको तथ्याङ्कमा छ ।
यो अभियानमा दादुरा रुबेलाका अतिरिक्त नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका खोप फोकल पर्सन उत्तमराज प्याकुरेलले बताए । नेपालभर गत आर्थिक वर्षमा एक हजार तीन सय ५० जनामा दादुरा रुबेला रोग देखिएको उनले जानकारी गराए । दादुरा रुबेला सङ्क्रमित मध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष उमेर समूहको रहेको उनको भनाई थियो । दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने उनले बताए ।
दादुरा निकै छिटो सर्ने सरुवा रोग भएको बताउँदै रोग लागेपछि जटिलताका कारण बिरामीको मृत्यु समेत हुन सक्ने प्याकुरेलको भनाई थियो । “दादुरा रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटाबाट अर्को व्यक्तिमा सर्दछ” उनले भने, दादुराको ज्वरो, शरीरमा बिमिरा, रुघाखोकी, नाकबाट पानी बग्ने, आँखा रातो हुने आदि मुख्य लक्षण भएको उनी बताउँछन् । खोप तालिम प्राप्त स्वास्थ्यकर्मीले सुईद्वारा दिने र सामान्य दुखाइ, ज्वरो वा बिमिरा उप्रिन सक्ने तर यो खोप निकै सुरक्षित रहेको प्याकुरेलले बताए ।
दादुरा लागेपछि खास उपचार नभएको तर बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नुपर्ने र भिटामिन ए खुवाउनुपर्ने युनिसेफले उल्लेख गरेको छ ।
स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप लगाएका बालबालिका ५२ प्रतिशत मात्र भने बागमती प्रदेशमा पूर्ण खोप लगाएका बालबालिका ६० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य निदेशानालायाको निदेशक दिपक प्रदान तिवारीले १३ गते अभियानको शुभारम्भ भएतापनि सबै जिल्लामा सोहि दिन नै सुरु हुन्छ भन्ने नभएको बताए । उनले १३ जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरु सगं बिरिफ़िंग लिएको बताउँदै बागमती प्रदेशका सबै जिल्ला पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । उनले बिचैमा खोप लगाउन छोड्नेको सङ्ख्यामा वृद्धि आएको र खोप बारे जानकार नै नभएको, खोप नै लगाएको बच्चाहरू भेटिन थाल्नु नै प्रमुख चुनौती भएको बताए ।
२०७२ सालको अभियान चलाउँदा मकवानपुर स्वास्थ्य निदेशानालायाको प्रमुख रहेको बताउँदै यसपालि नियमित खोपामा छुटेका बच्चाहरूलाई पनि अभियानमा खोप लगाइने नै अभियानको फरक पन भएको उनले बताए । नियमित खोपलाई नै अभियानमा प्रयोग गरिने तर खोप कार्ड चाई हुनु पर्ने उनको भनाई थियो । उनले १३ गते चितवनको ईच्छामनकामना गाउँपालिकाको कुरिनटार स्थित सर्वशान्ति माध्यामिक विद्यालयबाट स्वास्थ्य मन्त्रीले औपचारिक रूपमा अभियानको उट्घाटन गर्ने जानकारी दिए ।
निर्देशक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा. नवीन दर्नाल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, डब्लुएचओका डा. सुस्मिता बास्तोला, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।