काठमाडौं । स्टारलिङ्क इन्टरनेट सेवाको परियोजनामार्फत प्रक्षेपण गरिएका स्याटलाइटलाई जबरजस्ती आफ्नो स्पेस स्टेसनसँग ठोकाउन खोजेको भन्दै चीनले एलन मस्क विरुद्ध उजुरी गरेपछि सामाजिक सञ्जालमा उनले आलोचना खेपिरहेका छन् । स्टारलिङ्क स्याटलाइट आफ्नो स्पेस स्टेसनसँग दुई पटक ठोक्किन आएको बेइजिङको दाबी छ ।
संयुक्त राष्ट्र सङ्घको स्पेस एजेन्सीमा दिइएको उक्त उजुरीको विषयमा अहिलेसम्म स्वतन्त्र पुष्टि भने भएको छैन । स्टारलिङ्क एलन मस्कको स्पेस एक्सबाट सञ्चालित स्याटलाइट इन्टरनेट नेटवर्क हो ।
कार निर्माता कम्पनी टेस्ला नियामकको छानबिनको दायरामा आउने क्रम बढेपछि चीनमा उनी चर्चामा छन् । बाह्य अन्तरिक्ष मामिलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय कार्यालयमा यसै महिना चीनले दर्ता गराएको कागजात अनुसार यो घटना जुलाई १ र अक्टोबर २१ मा घटेको हो ।
‘सुरक्षाका लागि चाइना स्पेस स्टेसनले रोकथामका लागि टकराव नियन्त्रक लगाएको छ,’ एजेन्सीको वेबसाइटमा प्रकाशित कागजातमा चीनले भनेको छ । बीबीसीले अनुरोध गर्दा स्पेसएक्सबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ । उजुरी सार्वजनिक भएपछि ट्वीटरजस्तै चीनको सामाजिक सञ्जाल वाइबोमा एलन मस्क, स्टारलिङ्क र अमेरिकाको चर्को आलोचना भइरहेको छ । एकजना प्रयोगकर्ताले स्टारलिङ्क स्याटलाइटलाई ‘केवल अन्तरिक्ष फोहरमैलाको थुप्रो’ भनेर व्याख्या गरेका छन् ।
‘उक्त स्याटलाइट अमेरिकन अन्तरिक्ष युद्ध सामग्री हुन् र मस्क अमेरिकी सरकार एवम् सेनाले तयार पारेका नयाँ हतियार हुन्,’ अर्का प्रयोगकर्ताले भनेका छन् । त्यस्तै अर्को पोस्टमा भनिएको छ, ‘स्टारलिङ्कले सिर्जना गरेको जोखिम क्रमश खुलस्त हुँदैछ, जसको मूल्य समग्र मानव प्रतिस्पर्धाले चुकाउनुपर्नेछ,’ अर्को पोस्टमा भनिएको छ ।
अमेरिकाले बाह्य अन्तरिक्ष भूभागमा पालना गर्नुपर्ने दायित्वलाई बेवास्ता गर्दै अन्तरिक्ष यात्रीहरूलाई खतरामा पारिरहेको आरोप समेत चीनले लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकालाई जिम्मेवार भएर प्रस्तुत हुन चीनले यसअघि समेत आग्रह गरेको बताएका छन् ।
वैज्ञानिकहरूले अन्तरिक्षमा हुने टकरावले निम्त्याउने जोखिमहरूको विषयमा चासो व्यक्त गर्दै आइरहेका छन् । उनीहरूले विश्वभरका सरकारहरूलाई अनुमानित ३० हजार स्याटलाइट र पृथ्वीतर्फ आउँदै गरेका अन्य अन्तरिक्ष फोहरमैलाको जानकारी एकअर्कासँग साझा गर्न आग्रह गरिरहेका छन् ।
स्पेसएक्सले स्टारलिङ्क नेटवर्कका लागि यस अघि नै करिब १९०० स्याटलाइट प्रक्षेपण गरिरकेको छ र थप हजारौँ स्याटलाइट पठाउने योजनामा छ । गत महिना अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्ष फोहरमैलाको विषयलाई लिएर अचानक अन्तरिक्ष स्पेस स्टेसनको अन्तरिक्ष यात्रालाई स्थगित गरेको थियो ।