विविधएउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'
spot_img

एउटा सामान्य मुसा बन्यो ‘सुपरहिरो’

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ।

कम्बोडियामा बारूदी सुरुङहरूको खोजीका क्रममा रोनिनले १०९ वटा ल्यान्डमाइन र १५ वटा तोप गोलाहरू फेला पारेको थियो। सन् २०२१ यता गरिएको उक्त उपलब्धिले रोनिनलाई सबैभन्दा सफल ‘माइन डिटेक्सन र्याट’को रूपमा स्थापित गरेको हो।

रोनिन बेल्जियमस्थित गैरसरकारी संस्था ‘एपोपो’ (APOPO) द्वारा प्रशिक्षण प्राप्त १०४ मुसामध्ये एक हो। उक्त संस्थाले बारूदी सुरुङ पत्ता लगाउने उद्देश्यले विशेष किसिमको अफ्रिकी मुसालाई प्रशिक्षण दिँदै आएको छ। रोनिन पाँच वर्षको उमेरमा सेवा निवृत्त भएको थियो भने सन् २०२२ मा उसको निधन भएको थियो।

यसअघि, सन् २०२० मा ७१ वटा सुरुङ पत्ता लगाउँदै ‘मगावा’ नामक मुसाले स्वर्ण पदक प्राप्त गरेको थियो। रोनिनले उक्त कीर्तिमान तोडेको छ।

मुसालाई बारूदी सुरुङमा हुने रसायन पहिचान गर्न तालिम दिइन्छ। ग्रिड प्रणालीअनुसार उनीहरूलाई जमिनमा सूँघेर सानो इशारा मार्फत संकेत दिने प्रविधिमा प्रशिक्षित गरिन्छ। मानवले मेटल डिटेक्टरमार्फत त्यस्ता सुरुङ पत्ता लगाउन चार घण्टा लाग्ने कार्य मुसाहरूले आधा घण्टामा गर्न सक्षम भएका छन्।

सामाजिक सञ्जाल तथा विभिन्न अन्तर्राष्ट्रिय मिडियामा रोनिनको योगदानको प्रशंसा गरिएको छ। उसलाई ‘सुपरहिरो र्याट’को रूपमा समेत प्रस्तुत गरिएको छ।

सन् १९६० को दशकदेखि गृहयुद्धको चपेटामा परेको कम्बोडिया हाल पनि संसारका सबैभन्दा बढी बारूदी सुरुङ भएका देशहरूमध्ये एक हो। ल्यान्डमाइन मोनिटरको २०२४ को प्रतिवेदनअनुसार हालसम्म झण्डै ६० लाख सुरुङ अझै विस्फोट नहुन सक्ने अवस्थामा रहेका छन्।

सन् १९७९ यता कम्बोडियामा बारूदी सुरुङ र विस्फोटन नभएका हतियारका कारण झण्डै २० हजार व्यक्तिको मृत्यु र ४५ हजारभन्दा बढी घाइते भएका तथ्याङ्कहरू छन्।

रोनिनको योगदानले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा मुसा जस्ता जनावरहरू प्रयोग गर्ने अवधारणालाई थप विश्वसनीय र प्रभावकारी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img