काठमाडौं: नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ। कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो।
कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको दरखास्त आह्वान सम्बन्धी सूचना अनुसार उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी पाँच जना मागिएको छ । त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत कम्पनीमा जागिर खुलेको छ ।
यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । यसैगरी सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकममा जागिरको अवसर रहेको छ ।
एसएलसी देखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्। आवेदन फर्म भर्नको लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ।
इच्छुक व्यक्तिले टेलिकमको अनलाइन प्रणाली अनुसार यहाँ क्लिक गरी उल्लेखित प्रक्रिया अनुसार अनलाइन आवेदन दिन सक्नेछन् ।



