Monday, March 17, 2025
साहित्यझाेला बिसाऊँ अब

झाेला बिसाऊँ अब

  • देवीप्रसाद मिश्र (छन्द = शार्दूलविक्रीडीत)

पाना राष्ट्र सुधारका जति थिए ती सेफमा थन्किए
नेता आर्थिकमा समुन्नत बने याे राष्ट्रमा के दिए?
पार्टीका गुणगानमा दिन बिते नेपाल खाेक्राे भयो
आशा पूर्ण भएन खै अझ कुनै झाेला पुरानो भयाे!!१!!

बाड्याैँ गाउँ समाजका जनहरू आफ्ना पराया भनी
लायाैँ दाग नमेटिने मिलनमा झाेला भयो बैगुनी
धारा कूप इनार भिन्न बनिए बाटा कुला छुट्टिए
नेता मात्र बने समुन्नत !अहाे याे राष्ट्रमा के दिए?!!२!!

नारा छन् अझ तीस वर्षअघिकै नेता तिनै छन् सब
ताली मात्र बजाउँदै दिन बिते बाेकेर झाेला अझ
जस्तै याे सब राजनीति भवमा हेर्दा छताछुल्ल छ!
नेताका!अलवा छ दाेष यसमा झन् कार्यकर्ता सँग!!३!!

आफ्नाकाे गुणगान मात्र गरियो मिथ्या कुराकाे पनि
बाेल्ने सत्य उता छ अल्पमतमा उठ्नै दिएनाैँ अनि
उब्जेका अघि आपसी कलहका भारी समस्या यिनी
त्यस्तै छन् अझसम्म याे मुलुकमा झाेला भयाे बैगुनी!!४!!

साँच्चै राष्ट्र सुधार गर्नु छ भने झाेला बिसाऊँ अब
सारा यी जनता मिलाप पथमा आफैँ गरून् निर्णय
हाम्रा वृद्ध अगाडिका सुजनकाे गर्दै सदा आदर
छानून् सभ्य नवीन स्वच्छ दिलका नेतृत्व लाग्ने भर!!५!!

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img