काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न कोटा प्रणाली लागु गर्न प्रस्ताव गरेको छ। इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई कोटा प्रणालीलगायतका प्रस्ताव सिफारिस गरेको हो।
जसमा एउटा उपाय दुई पाङ्ग्रे र साना सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ। मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इन्धन दिन आग्रह गरिएको छ।
सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अवलम्बन गर्न आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको उनले बताए।
सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ।
निगमले सरकारलाई पठाएको सुझावमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न पनि भनिएको छ। जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी साधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधनहरू पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।