काठमाडौं / आज कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार, आज सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।
विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने, औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ।
वनजंगलका औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ।
देवकार्य वा पितृकार्य गर्दा गाेदान गरी शुद्ध हुनुपर्छ । लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ। कृषिकर्ममा गाईले दिने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिदै आएको छ ।
आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ .।
यता, सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णयक विकास समितिले जनाएको छ।