Tuesday, March 18, 2025
देशभारतसँग लडेर लिपुलेक फिर्ता ल्याउन सकिँदैन : देउवा

भारतसँग लडेर लिपुलेक फिर्ता ल्याउन सकिँदैन : देउवा

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक–लिम्पियाधुरा लडेर फिर्ता ल्याउन नसकिने बताएका छन्।

गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा बिहीबार सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लिपुलेक–लिम्पियाधुरा सीमा समस्याको समाधान वार्तामार्फत गरिने बताएका हुन्।

देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउने पनि बताए। राजनीतिक नाफा घाटाका लागि सीमाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा मुद्दा बनाउन नहुने उनको भनाइ थियो। उनले वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने बताए।

उनले भने, ‘लिपुलेक खोसेर फिर्ता ल्याउन सकिँदैन। हामी भारतसँग लडेर फिर्ता ल्याउन सक्दैनौं,’ उनले भने, ‘सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुने हो।’

देउवाले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोपसमेत लगाए।

देउवाले पाँचदलीय गठबन्धन १०/१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको पनि औंल्याए। देशको समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने उनको तर्क थियो।

राजनीतिमा स्थायी शत्रु नहुने उल्लेख गर्दै देउवाले माओवादीलगायतका दलसँग गठबन्धन गरी चुनावमा गएको बताए। देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि अबको ५ वर्ष धनगढी–डडेल्धुरा ४ लेनको सडक निर्माण, पश्चिम सेती परियोजनाको काम शुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज सञ्चालनलगायत ग्रामीण सडकहरू कालोपत्रे गरिने आश्वासन पनि दिए।

सातौं पटक प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएपछि देउवा पहिलोपटक डडेल्धुरा आइपुगेका हुन्। उनले शुक्रबार बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा उनले सम्बोधन गर्नेछन्।

देउवासँगै ती चुनावी आमसभामा प्रदेशसभा क्षेत्र १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्नेछन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img