काठमाडौं – आगामी तीन दिन देशका विभिन्न भागहरूमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ।
आज आइतबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ। उच्च पहाडी र हिमाली भेगका केही ठाउँहरूमा हल्कादेखि मध्यम हिमपात पनि हुन सक्ने पूर्वानुमान छ।
२१ गते सोमबार दिउँसो पहाडी भेगमा आंशिक देखि साधारण बदली रहने र गण्डकी तथा कर्णाली प्रदेशमा छिटफुट वर्षाको सम्भावना छ। राती कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने हिमाली भेगका एक-दुई ठाउँमा हल्का हिमपात हुन सक्छ।
२२ गते मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भेगमा आंशिक बदली रहने छ। राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली रहने र हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना छ।
मौसम विभागले वर्षा र हिमपातले केही क्षेत्रको जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा यातायातमा आंशिक असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।