काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका धेरैजसो भागमा हल्कादेखि भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।
मंगलबार बिहान ६ बजे जारी बुलेटिनअनुसार, आज दिनभरि सबै प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य ठाउँका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
आज रातमा पनि बागमती र गण्डकीसहितका पहाडी क्षेत्रका केही स्थानमा र अन्य भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको पनि चेतावनी जारी गरिएको छ।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १०–५० मिलिमिटरलाई मध्यम, ५०–१०० मिलिमिटरलाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथि परेको खण्डमा अति भारी वर्षा मानिन्छ।
त्यस्तै, कुनै प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना भए ‘एक-दुई स्थान’, १०–३० प्रतिशतसम्ममा ‘थोरै स्थान’, ३०–५० प्रतिशतसम्ममा ‘केही स्थान’, ५०–८० प्रतिशतसम्ममा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने भनिन्छ।
महाशाखाले नदी र खोलाहरूमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



