रसुवा | रसुवामा मंगलबार बिहान आएको भोटेकोसीको बाढीले कम्तीमा १७ जनालाई बगाएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये १२ नेपाली र ५ चिनियाँ नागरिक रहेका छन् भने कम्तीमा ९ जनाको उद्धार भएको छ। तर, यति ठूलो मानवीय क्षतिको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक सन्देशमा रसुवाको घटनाको उल्लेख नभएको भन्दै आलोचना भइरहेको छ।
मंगलबार बिहान करिब ३ बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आएको बाढीले इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठसहित तीन जना प्रहरीलाई पनि बगाएको छ। घटनास्थलबाट केही व्यक्तिहरूको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
बाढीले गोसाइँकुण्ड–५ पासाङल्हामु राजमार्ग भासिएका कारण धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको छ। त्यस्तै, इभी चार्जिङ स्टेशनमा क्षति पुगेको र त्यहाँ रहेका सात–आठ वटा गाडी बगाएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। रसुवा भन्सार कार्यालय र रसुवा हाइड्रोपावरको संरचनामा पनि क्षति पुगेको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी प्रमुखले “तत्कालै उद्धार टोली खटाइएको र बेपत्ता भएकाको खोजी भइरहेको” बताएका छन्।
यसैबीच, प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत त्रिशूली नदीसहित केही नदीहरूमा जलसतह बढेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरे। उनले लेखे, “त्रिशूली नदीलगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ।”
तर, रसुवामा मानवीय क्षति भइसकेको समाचार छ्यापछ्याप्ती भइरहँदा प्रधानमन्त्रीको सार्वजनिक सन्देशमा त्यसको स्पष्ट उल्लेख नभएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिएको छ।
सरकारका प्रवक्ताले भने प्रधानमन्त्रीलाई घटनाबारे जानकारी दिइएको र आवश्यक उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई निर्देशन दिइसकिएको बताएका छन्।
अहिलेसम्म उद्धार र खोजी कार्य जारी रहेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेकाे स्थानीय प्रशासनले जनाएको छ।



