हेटौँडा | धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै मंगलबार बिहान त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले एक आफन्तको निधन भएपछि शवलाई बिहान ५ बजे दाहसंस्कारका लागि नदी किनारमा लगिएको थियो। बिहान साढे ९ बजेतिर बाढीको सतह अचानक बढेपछि लगभग जलिसकेको शवको अवशेषसहित चिता बगाएको उनले बताए।
“शव त झण्डै खरानी भइसकेको थियो, तर चिता भने बाँकी थियो। त्यही बेला बाढीले बगायो,” अध्यक्ष थपलियाले भने।
घटनाको भिडियो वडा अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। थपलियाले नदी किनारमा दाहसंस्कार गर्दा जोखिम हुन सक्ने भन्दै पहिल्यै सूचना दिइसकिएको जानकारी दिए। “हामी सचेत भएर बसेका थियौं, सबै सुरक्षित छौं,” उनले भने।
यसैबीच, चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति गरेको छ। रसुवागढी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली, ६ चिनियाँ नागरिक र प्रहरीका ३ जना जवान छन्।
रसुवामा बाढीले रसुवागढी जलविद्युत् आयोजना, भन्सार यार्ड, सुख्खा बन्दरगाहका ७ वटा विद्युतीय गाडी र अन्य संरचनामा पनि ठूलो क्षति पुर्याएको छ। धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
विशेषज्ञहरूले चीनतर्फका पहाडमा आएको ठूलो वर्षाले नदीमा एक्कासी बाढी आएको बताएका छन्। त्रिशूलीमा बाढीको सतह अझै उच्च रहेकाले सतर्क रहन जिल्ला प्रशासनहरूले आह्वान गरेका छन्।



