हेटौँडा | चालु आर्थिक वर्षका ११ महिनामा (जेठ मसान्तसम्म) नेपालमा १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो अवधिमा रेमिट्यान्स आप्रवाह १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १५.५ प्रतिशतले बढी हो।
त्यस्तै, विदेशबाट आएको कुल द्वितीय आय (खुद ट्रान्सफर) पनि १६६८ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १४४३ अर्ब १० करोड थियो।
११ महिनामा वैदेशिक रोजगारीका लागि पहिलोपटक श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार पुगेको छ। रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै विदेशी मुद्राको सञ्चिति पनि २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ। हालको विदेशी सञ्चितिले देशको १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ।
विदेशी सञ्चितिको अनुपात जीडीपीको ४२.१ प्रतिशत, कुल आयातको १२२.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायकै ३४.१ प्रतिशत पुगेको छ।
यो अवधिमा चालु खाता ३०७ अर्ब ३१ करोड बचतमा रहेको छ। अघिल्लो वर्ष यो २०० अर्ब ३८ करोड थियो।
प्रत्यक्ष वैदेशिक लगानी पनि ११ अर्ब ९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेर आएको हो। शोधनान्तर स्थिति पनि अघिल्लो वर्षको तुलनामा सुधार हुँदै ४९१ अर्ब ४४ करोड बचतमा पुगेको छ।
जेठ महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ४.१७ प्रतिशतभन्दा कम हो। खाद्य तथा पेय पदार्थ समूहमा ०.५४ प्रतिशत र गैर-खाद्य तथा सेवामा ३.९४ प्रतिशत मुद्रास्फीति देखिएको छ।
विशेषगरी घ्यू–तेलमा १० प्रतिशतभन्दा बढी र फलफूल, दाल–गेडागुडीमा समेत सामान्य वृद्धि भएको छ। तरकारीको मूल्य सूचकांक भने ७ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ। गैर-खाद्य समूहमा विविध वस्तु तथा सेवामा करिब ९.५ प्रतिशत र शिक्षा, फर्निचर र सुर्तीजन्य पदार्थमा पनि उल्लेख्य वृद्धि भएको छ।
राष्ट्र बैंकका तथ्यांकले वैदेशिक आयको आप्रवाह बलियो देखिएको र मुद्रास्फीति नियन्त्रणमै देखिएको संकेत गर्छ। तर भित्रिने रकम वैदेशिक श्रम बजारमा निर्भर भएको र उत्पादनमूलक क्षेत्रमा सुधार नहुँदा दीर्घकालीन चुनौती कायमै रहेको अर्थविद्हरू बताउँछन्।



