दमक | नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–३ मा निर्माण भएको ‘दमक बिजनेस टावर’ लामो समयसम्म सञ्चालनमा नआएपछि संकटमा परेको छ। झण्डै १ अर्ब ६० करोड रुपैयाँ लगानीमा बनेको यो टावरको उद्देश्यअनुसारको विकास योजना जग्गा विवाद र ल्याण्ड पुलिङ प्रक्रियामा भएको ढिलाइले अल्झिएको हो।
विगतमा स्थानीय स्तरमै पाँच बिगाहा जग्गा व्यवस्थापन गरी टावर निर्माण गरिएको थियो। त्यसमध्ये तीन बिगाहा जग्गा माँ पञ्चकन्या हाउजिङ कम्पनीले र बाँकी दुई बिगाहा स्थानीयसँग सट्टापट्टा गर्ने सहमतिमा उपलब्ध भएको थियो। नगरपालिकाले उक्त पाँच बिगाहालाई आफ्नो नाममा पास गरी थप ५० बिगाहामा ल्याण्ड पुलिङ गरेर नियोजित बस्ती बसाउने योजना अघि सारेको थियो। त्यही क्रममा कम्पनीलाई फिर्ता गर्नुपर्ने दुई बिगाहा बराबरको जग्गा अझै फिर्ता हुन सकेको छैन।
सम्झौता अनुसार सट्टापट्टा गर्न नसके कम्पनीलाई नगद रकम फिर्ता गर्ने सहमति भएको थियो। तर हालसम्म कम्पनीले जम्मा १९ कट्ठा जग्गा मात्र पाएको भन्दै बाँकी १ बिगाहा १ कट्ठा जग्गाको गुनासो गर्दै आएको छ। मंगलबार प्रधानमन्त्री ओलीको सांसद सम्पर्क कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दमक–३ का वडाध्यक्ष नवीन बरालले बाँकी जग्गा फिर्ता गर्न पहल भइरहेको बताए। ‘स्थानीयसँग समन्वय गरेर जग्गा फिर्ता गराउने वा नगद रकम तिरेर भए पनि समाधान खोज्ने तयारीमा छौं,’ उनले भने।
हालसम्म ल्याण्ड पुलिङको पक्षमा ६५ प्रतिशतभन्दा बढी स्थानीयले सहमति दिइसके पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
ल्याण्ड पुलिङ गर्ने र नगर्ने पक्षबीच मतभेद कायमै रहँदा योजना नै अलपत्र परेको छ। दमक बिजनेस टावरसहित नयाँ नियोजित बस्ती विकास गर्ने दाबी गरिएकै ठाउँमा अहिले सम्म कुनै नयाँ निर्माण अघि नबढ्दा स्थानीय निराश छन्।
‘यो योजना बन्छ कि बन्दैन?’ स्थानीयहरू अन्योलमा छन्।
नगरपालिकाले अब प्रष्ट नीति र केन्द्र सरकारसँग समन्वय गरेर समस्या टुंग्याउनुपर्ने दबाब बढेको छ। अन्यथा टावरको बहुउद्देश्यीय प्रयोग नै अनिश्चित हुने चिन्ता व्यक्त गरिएको छ। दमकमा नयाँ सहर विकास गर्ने भन्दै सुरु गरिएको यो महत्त्वाकांक्षी योजना अलपत्र पर्दा न नगरपालिकाको विश्वास कायम छ, न स्थानीयको आशा जोगिएको देखिन्छ।



