Saturday, December 7, 2024
देशबागमती प्रदेशचीनको ‘ग्रेटवाल’ को झ्ल्को दिने मकवानपुर गढी

चीनको ‘ग्रेटवाल’ को झ्ल्को दिने मकवानपुर गढी

मकवानपुर: देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी तथा सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको छ ।

वर्तमानमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ मा पर्ने यस ऐतिहासिक किल्लाको नामबाट समग्र जिल्ला र गाउँपालिकाको नामाकरण भएको छ । जिल्ला सदरमुकाम हेटौंडाबाट सडक मार्गमा करिब १६ किलोमीटर उत्तरपूर्वमा पर्ने यस ठाउँको उचाइ समुद्र सतहबाट १०२५ मिटर रहेको छ ।

उत्तरतिर उच्च पहाडी शृंखला महाभारत पर्वतमालाको चन्द्रागिरी खण्ड साथै तीभन्दा पनि उच्च हिमालहरु दन्ते लहर मिलाएर हाँसेजस्तै देखिन्छ । अत्यन्तै सुन्दर देखिन्छ । मानौं स्वर्गको एक टुक्राजस्तै । गढीको दक्षिणतिर चुरे पर्वतमाला र भित्री मधेसको समतल भूभाग हर्नामाडी छ । सबैलाई लठ्ठ पार्ने, मनोरम, आँखालाई कहिँकतै नबिझाउने दृश्यले भरिपूर्ण यो स्थान निकै नै आकर्षक छ । त्यसैले यो एक पर्यटकीय सम्भावना बोकेको गन्तव्यसमेत हो ।

नेपालमा ठूला–साना गरी करीब दुईसय गढी छन्। ती सबैका आ–आफ्नै महत्व छन्। त्यस हिसाबले पनि मकवानपुर गढीको महत्व फरक छ। मकवानपुर गढीमा प्रयोग गरिएका शिलाहरू कति परिश्रमले, कसरी त्यहाँ पुर्‍याइए होलान्, अहिले हेर्दा आश्चर्य लाग्छ। गढीमा प्रयोग गरिएका ढुंगा, इँटालगायतका वस्तुहरूले चीनको ‘ग्रेटवाल’ को झ्ल्को दिन्छ।

इतिहासको आलोकमा ओजपूर्ण उपस्थिति रहेको मकवानपुरगढी आज उपेक्षित अवस्थामा छ । करिब १३२ रोपनी क्षेत्रफलमा फैलिएको यस गढीको लम्बाइ उत्तर दक्षिण करिब ११५ मिटर र चौडाइ ३५ मिटर छ । यो क्षेत्रफलका आधारमा सबभन्दा ठूलो गढी हो भनी पुरातत्व विभागले दावी गरेको छ । यो गढी कहिले बनेको हो भन्ने प्रमाणित तथ्य अहिलेसम्म फेला परेको छैन । तर, अनुमान के गर्न सकिन्छ भने प्रथम राजा लोहाङ सेनको पालादेखि नै यो बन्न थालेको हो । लोहाङ सेनको शासनकाल वि.सं. १६१० बाट सुरु भएको हो ।

गढीभित्र दुईवटा दरबार, एउटा पानी संकलन गर्ने खाडल, अर्काे खाडल कैदी थुनुवा राख्ने र वंश गोपाल तथा सिद्देश्वर महादेवको मन्दिर छ । दरबारको झ्याल, ढोका र पर्खाल प्रस्तर कुदेर आकर्षक बनाइएको छ । गढीको उत्तरपूर्व्तिर एक आपतकालीन द्वार समेत छ । बाहय किल्ला, दरबार, मन्दिर, किल्ला बाहिर चारैतिर रहेको सुरक्षात्मक खाडलमा समेत कलात्मक ढंगले प्रस्तर बिछ्याइएको छ ।

अहिले जीर्ण भइसकेको यस गढीका दुवै मन्दिरमा छानो रहेको छ । तर, दरबारहरु छानोविहीन अवस्था छ । दरबारको करिब ९ फिट अग्लो पर्खालमा काठको समेत प्रयोग देखिन्छ । यसका दुईवटा सहायक गढीहरु सानो गढी र ढुंगे गढीसमेत छन् ।

धार्मिक महत्व
प्रत्येक किल्लामा देवी र देवताको उपासना गर्ने र शक्ति आर्जन गर्ने परम्परासमेत हुन्छ । यो गढीमा पनि खाडो जगाउने, देवताको उपासना गर्ने र शक्ति आर्जन गर्न वंश गोपाल श्रीकृष्ण र सिद्देश्वर महादेवको मन्दिर स्थापना गरिएका छन् । सेनहरु हिन्दू धर्मका अनुयायी हुन् । यो किल्लामा कृष्ण जन्माष्टमी, हरितालिका तीज र हरिवोधनी एकादशी (ठूली एकादशी) का दिन मेलासमेत लाग्दछ ।

यस्तो महत्वपूर्ण गढी संरक्षणका लागि स्थानीय तहबाट केही प्रयास भएका छन्। सात वर्षअघि स्थानीय नागरिक समाजको अग्रसरतामा गठित ‘मकवानपुर गढी पर्यटन विकास समन्वय समिति’ ले वर्षेनि मकवानपुर गढी र शिखरकटेरीमा कार्यक्रम आयोजना गर्दै आएको छ। समितिकै सक्रियतामा शिखरकटेरीमा उद्यान निर्माण भएको छ। यद्यपि, स्थानीय तहबाट गढी संरक्षणका लागि भएका प्रयास सांकेतिक मात्र हुन्। यसको संरक्षणमा सरकार नै लाग्नुपर्छ। यसको लागि सरकारमाथि धान्नै नसक्ने व्ययभार पर्ने पनि होइन। त्यसमाथि, यो लगानीको नभई देशको गौरवको विषय हो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img