मकवानपुर: माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको निर्वाचनका लागि हेटौंडा-५ स्थित प्रदेश निर्वाचन कार्यालयमा मकवानपुरका जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्की कार्यालय स्थापना गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयको उद्घाटनपछि जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत कार्कीले कार्यालय स्थापनासँगै निर्वाचनका कार्यक्रमहरू आयोगको निर्णयअनुसार सञ्चालन हुने जानकारी दिए।
निर्वाचन कार्यक्रम अन्तर्गत पुस २० गते मतदाता नामावली प्रकाशन गर्ने, २२ गते अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गर्ने र पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यहरूको उम्मेदवारी दर्ता गर्ने कार्यसूची तय भएको छ। सो निर्वाचनका लागि बागमती प्रदेश सभाका ११० जना सदस्यहरू, प्रदेशको ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३७ गरी जम्मा ३४७ जना मतदाता रहनेछन्।
निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगले तयारी गरेको छ।
यस्तो छ संविधानमा ब्यावस्था
नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० मा समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
राष्ट्रिय सभामा विसं. २०७५ असार ४ गते गोला प्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि सकिन लागेको हो। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत १ गरी २० सदस्यको पद रिक्त हुँदै छ।
राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनासहितका नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० जना सांसदहरूको पदावधि आगामी फागुन २१ गतेदेखि सकिदैंछ। जसमा १ मनोनितबाहेक १९ सदस्यका निम्ति निर्वाचन हुनेछ।
नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित) को पदावधि सकिँदैछ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ।