हेटौँडा | बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब पाँच सय युवालाई रोजगारी दिने तयारी गरेको छ। मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित यो योजना अघि बढाएको हो।
यस प्रयोजनका लागि मन्त्रालय र सुरक्षण कोषबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले आइतबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार सुरक्षण कोषले कक्षा १२ उत्तीर्ण गरेका युवाहरुलाई सूचना प्रविधिसम्बन्धी सीप विकास तालिम प्रदान गर्नेछ। तालिमपछि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने तथा सूचना प्रविधि क्षेत्रमा सक्रिय रोजगारदातासँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गरिनेछ।
रोजगारीमुखी सीप विकास तालिमलाई प्रभावकारी बनाउन कोषले आवश्यक बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सम्झौता गर्नेछ। ती संस्थाहरूको विवरण सूचना प्रविधि प्रणालीमार्फत अद्यावधिक गरिनेछ।
योजना अनुसार सुरक्षण योगदानकर्ताले ‘रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’ नामक छुट्टै कोष स्थापना गर्ने व्यवस्था गरिएको छ। उक्त कोषमा कर्जाको १० प्रतिशत रकम जम्मा गरिनेछ। सोही कोषबाट त्रैमासिक सुरक्षण शुल्क संकलन गरिने तथा कर्जामा क्षति भएमा क्षतिपूर्तिको व्यवस्था मिलाइनेछ।
मन्त्री महर्जनले देशमै रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकतामा आफू प्रतिबद्ध रहेको जनाउँदै वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै सीप र रोजगारीको अवसर खोज्न युवाहरुलाई आग्रह गरेका छन्।



