हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम संसदमा प्रवेश गरेसँगै त्यसले बहसको केन्द्र ओगटेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम एकातर्फ ‘निराशा चिर्ने’ प्रयासका रूपमा चित्रण गरिए पनि, अर्कोतर्फ सत्तारूढ दलकै सांसदले समेत यसमा असन्तुष्टि जनाएका छन्।
सरकारको नीति कार्यक्रमबारे सोमबार भएको छलफल करिब पाँच घण्टा लामो रह्यो, जहाँ सत्तापक्ष र विपक्ष दुवैले आ–आफ्ना दृष्टिकोण सार्वजनिक गरे।
‘नीति राम्रो छ, तर…’
मुख्य प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेलले “हामी समर्थन गर्दैनौं” भनेर आफ्ना भनाइ सुरु गरे। उनको आरोप थियो– नीति कार्यक्रम न त स्पष्ट छ, न जनताको अपेक्षाअनुसार छ। “दुई ठूला दलको मिलन भए पनि जनताले त्यो अनुभूति गर्न पाएनन्,” भन्दै उनले सत्ता पक्षप्रति अहंकार देखिएको टिप्पणी गरे।
उनको गुनासो स्पष्ट थियो– सरकारको नीति निर्माण प्रक्रियामा प्रतिपक्षसँग कुनै सल्लाह लिइएन। “प्रतिपक्ष भएको कुरा नै सरकार बिर्सिएको छ,” भन्दै उनले यो घमण्डपूर्ण शैलीको विरोध गरे।
तर, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकारले भने नीति कार्यक्रम “निराशा चिर्ने प्रयास” भएको दाबी गरे।
उनका अनुसार कार्यक्रमले खानेपानी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सम्बोधन गर्न खोजेको छ। स्रोतको सीमितताले धेरै अपेक्षा पूरा गर्न नसके पनि नीति सकारात्मक प्रयास हो भन्ने उनी ठान्छन्।
तर उनले पनि करको दायरा बढाउने र गैर-कर आम्दानीका स्रोतको खोजीमा सरकार सक्रिय हुनुपर्ने बताए। “स्रोत नहुँदा नीति राम्ररी कार्यान्वयन हुँदैन,” भन्दै उनले कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
सत्तामा सहभागी नेकपा एमालेका सांसद जयराम थापाले नीति कार्यक्रम राम्रो भएको बताए। तर समस्या भनेको “कार्यान्वयन” हो भनेर उनले सरकारलाई खबरदारी गरे।
उनले विगतका नीतिहरू पनि राम्रो भए पनि कार्यान्वयन कमजोर हुँदा जनताले प्रभाव महसुस गर्न नपाएको स्मरण गराए। “नीति त राम्रै बन्छ, अब त्यसलाई कसरी कार्यान्वयन गर्ने हो, त्यो कुरा हो,” भनेर उनले स्पष्ट संकेत दिए कि नीति बनाउनु मात्रै होइन, लागू गर्ने शैलीमा सुधार आवश्यक छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले भने नीति कार्यक्रम “जसको शक्ति, त्यसको भक्ति” शैलीमा आएको आरोप लगाए।
उनले काठमाडौँको नागार्जुन–४ जस्तो स्थानको पानी समस्याको उदाहरण दिँदै भने– “मेलम्चीको पानी बगिरहेको ठाउँ छेउकै बस्तीमा सधैं हाहाकार छ, तर त्यहाँको समस्यालाई समेट्नै सकिएन।”
यसरी क्षेत्रीय असन्तुलन, विभेद र योजनाको असमान वितरणप्रति राप्रपाले चर्को असन्तुष्टि जनाएको छ।
नेकपा एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालको आलोचना अझै सशक्त थियो। उनले नीति कार्यक्रमको ५३औं बुँदामा उल्लेख गरिएको “युवाको सर्वाङ्गिण विकास : राष्ट्र निर्माणको आधार” भन्ने नारालाई “युवालाई गिज्याउने नारा” भने।
“विदेशमा युवा छन्, तर नारामा नेपालमा राखिएका छन्,” भन्दै उनले सरकार युवालाई केवल नारामा सीमित राखेको आरोप लगाए। साथै, दुई ठूला दलहरूलाई बाघजस्तो व्यवहार त्याग्न पनि सुझाव दिए।
सोमबारको बैठकमा प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ को संशोधन र प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ । यी विधेयकबारे उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेदन छलफलपछि मन्त्री शुकमाया तामाङले पारित गर्न प्रस्ताव गरेकी थिइन्। उनको दाबी थियो, “संशोधनले कानुनी जटिलता हटाएर उद्योगी व्यवसायीका लागि सहजता ल्याउनेछ।” सांसदहरूले विधेयकको पक्षमा समर्थन जनाए पनि कार्यान्वयन प्रक्रियामा स्थायित्व र स्पष्ट मार्गदर्शन चाहिने कुरा दोहोरिएर उठ्यो।
नीति बन्यो, तर जनताको जीवनमा कहिले पुग्छ?
बागमती प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमको सार हेर्दा, सरकारले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी र युवा क्षेत्रमा बहुआयामिक ध्यान दिएको देखिन्छ। कागजमा हेर्दा यो नीति ‘उदाहरणीय’ लाग्न सक्छ, तर संसदभित्रै भएका छलफलहरूले यसमा गम्भीर प्रश्न उठाएका छन्।
नीति राम्रो देखिए पनि कार्यान्वयनमा ढिलाइ हुने पुरानै प्रवृत्ति दोहोरिने संकेत देखिन्छ। नीति बनाउने बेला चिल्ला नारा घन्काइए पनि, त्यसको नतिजा जनताको जीवनमा देखिँदैन भने त्यो सबै व्यर्थ हुन्छ।
यो पटक आलोचना सत्तारूढ दलभित्रबाटै आयो। केही सांसदले नै खुलेर भने—“नीति त ठीक छ, तर यो किताबमै सीमित नहोस्।” विपक्षको त गुनासो स्पष्ट छ—सल्लाहविना नीति आयो, युवालाई नारामा मात्र सीमित गरियो, क्षेत्रीय असमानता अझै हटेको छैन।
विशेषगरी युवा लक्षित कार्यक्रमको नारालाई लिएर गम्भीर प्रश्न उठेका छन्। ‘युवाको सर्वाङ्गिण विकास राष्ट्र निर्माणको आधार’ भनेर लेखिएको छ, तर वास्तविकता के छ? युवा रोजगारीको खोजीमा विदेश जान विवश छन्। यो गिज्याइजस्तै हो।