देशबागमती प्रदेशबागमतीमा लम्पीस्किन प्रकोप : ७४ पशुको मृत्यु, अब सात दिन खोप अभियान

बागमतीमा लम्पीस्किन प्रकोप : ७४ पशुको मृत्यु, अब सात दिन खोप अभियान

हेटौँडा | बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध एक सातासम्म खोप अभियान चलाउने भएको छ। भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रदेशका १३ वटै जिल्लामा एकैपटक सुरु गरिने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मधुसुधन पौडेलले ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाट अभियानको औपचारिक सुरुवात हुने बताए। उहाँका अनुसार नवजात बाछाबाछीलाई तीन महिनासम्म खोप दिन नमिल्ने भएकाले रोग नियन्त्रणमा चुनौती भइरहे पनि सरकारले यो अभियानलाई व्यापक बनाउन लागिपरेको छ।

मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत रामप्रकाश प्रधानले हाल बागमती प्रदेशका सबै जिल्लामा लम्पीस्किन फैलिएको जानकारी दिए। मकवानपुर, सिन्धुली, काभ्रे र चितवन बढी प्रभावित जिल्लामा पर्दछन्। असार र साउन महिनामै एक हजार छ सय तेत्तीस गाईभैंसीमा संक्रमण पुष्टि भएको र हालसम्म ७४ वटा पशुको मृत्यु भएको पनि उनले बताए।

प्रधानका अनुसार हालसम्म प्रदेशमा ९४ हजार आठ सय ७७ वटा पशुलाई खोप लगाइसकिएको छ। यस वर्ष मात्रै प्रदेशका लागि एक लाख २० हजार मात्रा खोप छुट्याइएको छ। लम्पीस्किनसहित अन्य पशुजन्य रोग नियन्त्रणका लागि प्रदेश सरकारले करिब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयले जानकारी दिएको छ।

सन् २०७७ सालमा पहिलो पटक देखिएको लम्पीस्किन रोग अहिले देशका ७७ वटै जिल्लामा फैलिसकेको सरकारी तथ्यांक छ। लामखुट्टे, झिंगा, भुसुना लगायतका किराको टोकाइबाट सर्ने यो रोग संक्रमित गाईभैंसीको सम्पर्कमा आउँदा पनि फैलिन्छ। विज्ञहरुका अनुसार रोगबाट जोगिन खोप नै प्रभावकारी उपाय हो भने संक्रमित पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img