देशबागमती प्रदेशप्रदेश सरकारको जेनजी आन्दोलनमा ९० करोड क्षति, प्रहरीलाई ८५ नयाँ मोटरसाइकल उपलब्ध...

प्रदेश सरकारको जेनजी आन्दोलनमा ९० करोड क्षति, प्रहरीलाई ८५ नयाँ मोटरसाइकल उपलब्ध गराउने

हेटौँडा । जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारले मातहतका कार्यालय, भवन, सवारीसाधन र जिन्सी सामग्रीमा ९० करोड रुपैयाँभन्दा बढी क्षति भएको जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पाँच जिल्ला(काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र मकवानपुर)मा संरचना र सवारीसाधनमा ठूलो नोक्सानी पुगेको हो। सबैभन्दा बढी क्षति प्रदेश राजधानी मकवानपुरमा भएको छ।

मन्त्री प्रभात तामाङका अनुसार प्रदेशभर २६ वटा कार्यालय र ६० वटा भवन क्षतिग्रस्त भएका छन्। भवनतर्फ मात्र करिब ४८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। साथै १४२ वटा मोटरसाइकल र ५३ वटा चारपाङ्ग्रे सवारीसाधन बिग्रिएर २१ करोड रुपैयाँभन्दा बढी नोक्सान पुगेको छ। जिन्सी सामग्रीमा मात्र करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।

२४ भदौमा प्रदर्शनकारीहरूले हेटौंडास्थित मन्त्रालय र प्रदेशसभा भवनमा तोडफोड तथा आगजनी गरेपछि धेरै भवन प्रयोगयोग्य छैनन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिक परीक्षण गर्दा ११ मध्ये १० वटा भवन तत्काल बस्न अयोग्य देखिएका छन्।

यसैबीच, आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयलाई सहयोग स्वरूप बागमती प्रदेश सरकारले करिब ३ करोड रुपैयाँ बराबरका ८५ वटा नयाँ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता मन्त्री तामाङका अनुसार ३० वटा इलाका प्रहरी कार्यालयका लागि, ३० वटा उपत्यका प्रहरीका लागि र २५ वटा उपत्यका ट्राफिक प्रहरीका लागि मोटरसाइकल खरिद गर्न लागिएको हो।

मापदण्डअनुसार अधिकतम १६० सीसीसम्मका, प्रति मोटरसाइकल ३ लाख ५० हजार रुपैयाँ मूल्यका सवारी खरिद गरिने मन्त्रालयले जनाएको छ। चाडपर्वमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल उपलब्ध गराउन लागिएको हो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img