देशबागमती प्रदेशपर्वहरूले सामाजिक एकता र सहिष्णुता बढाउँछ : मुख्यमन्त्री बानियाँ

पर्वहरूले सामाजिक एकता र सहिष्णुता बढाउँछ : मुख्यमन्त्री बानियाँ

सारांश

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विजयादशमी लगायतका धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय भावनालाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनले यी पर्वहरूलाई सद्भाव र एकताको पर्वका रूपमा मनाउन सबैलाई आग्रह गरे।

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली समाजका धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय भावनालाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । विजयादशमी २०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले सम्पूर्ण प्रदेशवासी, मुलुकभरका नागरिक र विदेशमा रहेका नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै दसैँलाई सदभाव र एकताको पर्वका रूपमा मनाउन सबैलाई आग्रह गरे ।

मुख्यमन्त्री बानियाँले नेपाली समाज बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधताले सम्पन्न रहेको स्मरण गराउँदै यस्ता विविधतालाई पर्वहरूले अझ एकताबद्ध गर्ने धारणा राखे । उनले विजयादशमीसँगै दीपावली, नेपाल संवत, छठलगायत पर्वहरूले आपसी भ्रातृत्व, सहिष्णुता र सामाजिक सदभावलाई सुदृढ पार्नेमा विश्वास व्यक्त गरे ।

‘धार्मिक तथा सांस्कृतिक पर्वहरू परम्परा मात्र होइनन्, यी समाजमा राष्ट्रिय एकता र सहअस्तित्वको आधार हुन् । यी पर्वहरूले ल्याउने भ्रातृत्व र सदभावले नेपाली समाजलाई अझ मजबुत र सशक्त बनाउँछन्,’ मुख्यमन्त्री बानियाँद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् । राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र संविधानको कार्यान्वयनले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले मूल्य, मान्यता, संस्कार र संस्कृतिको संरक्षणलाई विशेष महत्त्व दिनुपर्ने बताए ।

उनले सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित समाज निर्माणमा प्रदेश सरकार निरन्तर सक्रिय रहेको जानकारी दिँदै असमानतामुक्त र समावेशी समाज निर्माणलाई साझा ध्येयका रूपमा अघि सारिएको स्पष्ट पारे । ‘हाम्रो मौलिक पर्वसँगै रहेका सकारात्मक पक्षलाई आत्मसात् गर्दै समाजलाई एकताबद्ध र विकासतर्फ उन्मुख बनाउन सरकार निरन्तर प्रतिबद्ध छ ।’

मुख्यमन्त्री बानियाँले विजयादशमीलाई आपसी सदभाव, भाइचाराको सन्देश दिने र समाजमा शान्ति, सुशासन र समृद्धि कायम गर्ने अवसरका रूपमा लिन सबैलाई आग्रह गर्दै सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइलाई आनन्द, शान्ति, समृद्धि र स्वास्थ्यको मंगलकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img