हेटौँडा | शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरमा दर्जनौं घर डुबानमा परेका छन् भने हेटौँडा -काठमाडौं जोड्ने छोटा दुरीका राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका-५ का विभिन्न क्षेत्रहरूमा डुबान भएको छ।
प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, करिब २५ देखि ३० वटा घरहरू डुबानमा परेका छन्। “हामीले तत्काल उद्धार कार्य सुरु गरेका छौं,” उनले भने , “हालसम्म कुनै मानवीय क्षति भएको छैन।”
यसैबीच, मकवानपुर र काठमाडौं जोड्ने सडक खण्ड पनि अवरुद्ध भएको छ। भिमफेदि गाउँपालिका-४ चिउरी बगैचामा अपराह्न ४ बजेतिर खसेको पहिरोले भिमफेदि-काठमाण्डौ-हेटौडा सडक खण्ड पूर्णरूपमा अवरुद्ध गरेको छ। यो सडक अवरोधले दुवैतर्फका यात्रुहरूलाई प्रभावित पारेको छ।
त्यस्तै, बर्षाका कारण पहिरो खस्दा अबरुद्ध बनेको हेटौँडा- काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा भने यातायात पुन:संचालनमा आएको प्रहरीले जनाएको छ ।
मौसम विभागले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।