हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोलीले मंगलबारदेखि औपचारिक अध्ययन सुरु गरेको छ।
टोलीले घटनास्थलमा पुगेर जमिनको भूगर्भीय अवस्था, माटोको बनावट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको अध्ययन गरिरहेको छ। अध्ययनका लागि खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी नेतृत्वको टोली हेटौँडा आएको हो।
भूगर्भविद् अधिकारीका अनुसार घटनाको वैज्ञानिक विश्लेषण गर्न विशेष प्रविधियुक्त उपकरण प्रयोग गरिँदैछ। “सतह मुनिको माटो बनावट, भूमिगत जलको स्थिति र जमिनको अवस्थाबारे यथार्थ बुझ्न हामीले प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिरहेका छौँ,” अधिकारीले बताए। उक्त प्रविधिबाट भूगोलको चुम्बकीय क्षेत्र र सतहमुनिका भौतिक तत्वको अवस्था पत्ता लगाउन सकिने उनले जानकारी दिए।
गत शुक्रबार बिहान ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी माछा बोकेर गैरीगाउँको भित्री सडक खण्डमा रोकेको अवस्थामा जमिन भासिएर बेपत्ता भएको थियो। घाँस काट्ने मेसिन लोड गरिएको गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि निकाल्ने प्रयास भइरहँदा अचानक जमिन भासिएर गाडी समेत हराएको थियो।
लगातार तीन दिनसम्मको खोजीबाट पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् बोलाएर अध्ययन गराउने निर्णय गरेको थियो।