हेटौँडा | मकवानपुरको हेटौँडा-६ स्थित गौरीटार रंगशालामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत एपिएफ क्लब फाइनल प्रवेश गर्न सफल भएको छ। मंगलवार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई २–० को स्पष्ट अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक रहेको खेलमा एपिएफका लागि ७१औँ मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरिन्। उनले कप्तान अनिता बस्नेतको कर्नर पासमा उत्कृष्ट हेडमार्फत गोल गरेकी थिइन्। त्यसपछि, ७६औँ मिनेटमा अनिता केसीले पनि कप्तान बस्नेतकै असिस्टमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अग्रता दिलाइन्।
खेलभर आक्रमक दबाब राखेको एपिएफले संकटालाई दोस्रो हाफमा पूर्ण रूपमा पन्छ्यायो। संकटा क्लबले केही मौका पाए पनि गोलमा परिणत गर्न सकेन, र दोस्रो हाफमा रक्षात्मक कमजोरीकै कारण प्रतियोगिताबाट बाहिरिएको छ।
एपिएफका खेलाडी रेनुका नगरकोटी खेलकी उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) घोषित भइन्। उनको निरन्तर प्रयास र मैदानमा देखिएको सक्रियताको कदर स्वरूप उनले नगद १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरिन्।
यस जितसँगै एपिएफले अब उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल भिडन्त गर्नेछ। पुलिस क्लबले मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवनलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगिताको फाइनल बिहीवार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ। उपाधि जित्ने टोलीले ५ लाख रुपैयाँ, उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
एपिएफकी फरवार्ड रश्मि कुमारी घिसिङ अहिले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्। उनले हालसम्म २ खेलमा ६ गोल गरिसकेकी छन्, जसले टिमलाई जित दिलाउन उल्लेखनीय योगदान दिएको छ।