हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले व्यवसायिक फुटबल एकेडेमी सञ्चालन गर्ने उद्देश्यसहित खेलाडी छनोट प्रक्रिया तीव्र पारेको छ। आइतबार वडा नम्बर ४ र ५ का खेलाडीहरु छनौट गरिएको छ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानका अनुसार भदौ ८ गतेसम्म सबै वडामा छनोट सकिनेछ। त्यसपछि अन्तिम चरणमा छनोट गरिएका खेलाडीलाई एकेडेमीमा राखी व्यवसायिक रूपमा फुटबलर उत्पादन गरिनेछ। उनले भने, “स्थानीय तहबाटै यस्तो पहल भएकाले अब हाम्रो गाउँपालिकाले राष्ट्रियस्तरमै खेलाडी दिन सक्षम हुनेछ।”
छनोट कार्यक्रममा सहभागी एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले स्थानीय तह, सरकार र एन्फाबीचको सहकार्यलाई ऐतिहासिक पहल भन्दै खुशी व्यक्त गरे। उनले एन्फासँग सहकार्य गरेर एकेडेमीलाई मजबुत बनाउन योगदान दिने प्रतिबद्धता जनाए।
यसअघि नै राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आएको बागमती गाउँपालिकाले अब एकेडेमीमार्फत व्यवसायिक खेलाडी उत्पादन गर्ने तयारी गरेको हो। अन्तिम चरण छनोट भदौ ९ गते महिला र १०–११ गते पुरुष खेलाडीका लागि झुरझुरेस्थित रंगशालामा हुनेछ।
मुख्य प्रशिक्षक मेघराज केसी नेतृत्वको टोलीले खेलाडी छनोट गरिरहेको छ। छनोट भएका खेलाडीलाई बागमती–८ स्थित एकेडेमी भवनमा राखी प्रशिक्षण दिइने तयारी गाउँपालिकाले गरेको छ। प्रशिक्षणसँगै पढाइका लागि जनता माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ।
छनोट कार्यक्रममा एन्फा केन्द्रीय सदस्य टीकाराम लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो।



