हेटौँडा | हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। १० वर्षपछि दोस्रोपटक आयोजना हुन लागेको यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिएका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सव संघको भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
संघ महासचिव राजेन्द्र चौलागाईंका अनुसार महोत्सवमा ३५० स्टल रहनेछन्, जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघले जनाएको छ।
संघ वरिष्ठ उपाध्यक्ष सागर कटुवालका अनुसार महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउनेछ। साथै, यसले गुणस्तरीय प्रतिस्पर्धा सिर्जना गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर प्रदान गर्नेछ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना गरिनेछ, जसमा मकवानपुरका प्रतिभाहरूले प्रस्तुति दिनेछन्।
महोत्सव सफल बनाउन २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघ कार्यालय प्रमुख सुन्दर घिमिरेले जानकारी दिए।



