हेटौंडा | हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा आगामी ३० माघदेखि ७ फागुनसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। यस आयोजनाको मुख्य उद्देश्य सनातन धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्दै नियमित सत्सङ्ग र आध्यात्मिक प्रवचन प्रस्तुत गर्नु हो।
मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीका अनुसार महायज्ञको उद्घाटन ३० माघको विहान ७ बजे अङ्गारेश्वर मन्दिर परिसरबाट हुने कलश यात्रासँगै हुनेछ। यस यात्रामा हेटौंडा १७ हटिया वडा कार्यालय चोकदेखि हेटौंडा १८ आरामपुरसम्म यात्रा हुनेछ। महायज्ञको उद्घाटन प्रमुख अतिथि संघीय सांसद दीपक बहादुर सिंह र विशिष्ट अतिथि प्रा.डा. विष्णुप्रसाद तिम्सिना र पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्यबाट संयुक्त रूपमा हुने कार्यक्रम रहेको छ।
महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री र पण्डित दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्नेछन्। महायज्ञबाट संकलन हुने रकमले मन्दिर परिसरमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, सभाहलको स्थरोन्नति र मन्दिरको जग्गामा पर्खाल लगाउने कार्य गर्ने लक्ष्य राखिएको छ।
महायज्ञमा ८ वटा समितिहरू गठन गरिएका छन् जसमा विभिन्न संयोजकहरूले जिम्मेवारी सम्हाल्नेछन्। महायज्ञका दौरान प्रत्येक दिन विहान ६ बजे देखि ११ बजेसम्म पाठ पारायण र हवन, ११ बजे देखि ४:३० बजेसम्म कथा प्रवचन, र साँझ ६ बजे देखि ९ बजेसम्म महात्म्य प्रवचन र भजन किर्तन हुने कार्यक्रम तय गरिएको छ। महायज्ञ ७ फागुनमा पूर्णाहुति, तिलार्चन र प्रसाद वितरणसँगै समापन हुनेछ।



