हेटौँडा | नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा हेटौँडामा प्रदर्शन भएको छ। योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णय बदनियतपूर्ण रहेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्।
प्रदर्शनकारीहरूले हातमा मैनबत्ती र टुकी बालेर विरोध जनाउँदै सरकार विद्युत् माफियाको दबाबमा आएको आरोप लगाए। सिमाचोकबाट सुरु भएको नारा-जुलुस बुद्धचोकमा कोणसभामा परिणत भएको थियो।
प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरूले उर्जा मन्त्री दिपक खड्काको पुत्ला समेत जलाएका थिए। सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो, जसमा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन्।
विरोध प्रदर्शनमा वाइसिएलका नेता तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। उनीहरूले कुलमान घिसिङलाई पुनः जिम्मेवारी दिन सरकारलाई दवाव दिने चेतावनी दिएका छन्।