समाजहेटौँडामा सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा
spot_img

हेटौँडामा सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा

हेटौँडा |  हरित ऊर्जाको प्रवर्द्धन र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै हेटौंडामा नेपालकै पहिलो सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा‌ले आइतवार एक विशेष समारोहबीच यसको उद्घाटन गरे।

नेपाली ट्रान्सफर्मर उत्पादन उद्योगमा अग्रमोर्चामा रहेको कम्पनी ‘निक’ ले चिनियाँ कम्पनी हुवाईसँगको सहकार्यमा ४०० किलोवाट क्षमताको अत्याधुनिक चार्जिङ स्टेसन स्थापना गरेको हो। कम्पनीका अनुसार अब सवारी साधनहरूलाई ५ देखि १५ मिनेटमै फुल चार्ज गर्न सकिनेछ।

उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा‌ले हरित शहरको लक्ष्यप्रति प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “चार्जिङ स्टेसनले धुवा–धुलो कम गरी हेटौंडाको सौन्दर्य र वातावरणीय स्वच्छता कायम राख्न ठूलो योगदान पुर्‍याउनेछ।”

मुख्यमन्त्री लामाले प्रदेशभर यस्ता स्टेसन आवश्यक रहेको धारणा राख्दै “नेपाली पानीबाट उत्पादित विद्युत् देशमै प्रयोग गर्दा आर्थिक स्रोत पनि देशमै रहनेछ,” भन्दै सरोकारवालालाई सहकार्यमा जुट्न आह्वान गरे।

चार्जिङ स्टेसनमा लगातार विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि २४०/२२० केभी क्षमताको सौर्य प्रणाली समेत जडान गरिएको छ। स्टेशनमा एकैपटक ५ वटा चार्जिङ पोइन्ट प्रयोगमा ल्याउन सकिने व्यवस्था गरिएको जानकारी स्टेशन प्रमुख प्रेशा श्रेष्ठले दिइन्।

प्रत्येक चार्जिङ पोइन्ट नजिकै वृक्षारोपण गरिएको छ। हरियाली वातावरण निर्माणमा जोड दिँदै निक कम्पनीले हेटौंडामा हरित उत्पादन प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्यक्रममा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षता थियो भने हुवाई नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिश एम्बेसीकी प्रतिनिधि रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img