हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष उपहार पठाएका छन्। परम्परागत बाँसको पेरुङ्गोमा राखिएको चिउरी बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्रीसमक्ष पु¥याइएको हो।
चिउरी ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यसलाई चिउरी मात्र नभई “समुदायको आशा र भरोसा” समेतको प्रतीकका रूपमा व्याख्या गरे। उनले भने, “चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने चिउरीबाट म समृद्धिको परिकल्पना गरिरहेको छु।”
ओलीले चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउने घोषणा गर्दै परम्परागत सीप, जैविक विविधता र आदिवासी समुदायका जीवनशैलीलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।
उनले वन स्रोतको प्रयोग सालको रूख काटेर मात्र सीमित नराखी दीगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय रोजगारी सिर्जनासम्म लैजानुपर्ने धारणा राखे।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेट्दै वनमा आधारित स्थानीय उद्यम विकासमा चिउरी महत्त्वपूर्ण स्रोत बन्न सक्ने बताइन्। पाठक सामुदायिक वन उपभोक्ता महासंघकी अन्तरराष्ट्रिय अध्यक्षसमेत हुन्।
उनले मकवानपुर, चितवन र धादिङका चेपाङ समुदायलाई आर्थिक रूपमा सक्षम बनाउन चिउरी खेती र उत्पादनलाई सम्बद्ध कार्यक्रम ल्याउन जोड दिइन्।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रधानमन्त्रीका लागि चिउरी पठाउनु समुदायको पहिचानको प्रतिनिधित्व रहेको बताए। “प्रधानमन्त्रीले उपहार खुसीका साथ ग्रहण गर्नु हाम्रो लागि गर्वको विषय हो,” मल्लले भने।
चेपाङ समुदायमा चिउरीको सांस्कृतिक मूल्य पनि गहिरो छ। विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने परम्परा यस समुदायमा अझै जीवित छ।