हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका-२ बैकुण्ठमा निर्माण भएको कैलाश-बैकुण्ठ जीपलाइनको पहिलो चरणको सफल परीक्षण सम्पन्न भएको छ। जीपलाइनका प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नं. २ का अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशीलगायतको टोलीले परीक्षण सम्पन्न गरेको हो।
गाउँपालिकाको आफ्नै बजेटबाट निर्माण गरिएको यो जीपलाइन नेपालकै पहिलो स्थानीय तहको लगानीमा बनेको जीपलाइन हो। गाउँपालिका राष्ट्रिय महासंघका कार्यसम्पादन समितिका सदस्य समेत रहेका अध्यक्ष मुक्तानले पर्यटन प्रवर्द्धन र वातावरणीय विकासका लागि स्थानीय तहलाई पूर्ण अधिकार दिइनुपर्ने प्रस्ताव राखेका थिए। संघीय सरकारले समेत सकारात्मक धारणा व्यक्त गरेपछि जीपलाइन निर्माण अघि बढाइएको उनले बताए। कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्ने गरी १२ सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ।

अध्यक्ष मुक्तानका अनुसार कैलाश-बैकुण्ठ जीपलाइन सञ्चालन भएपछि धादिङ जिल्लाको रोराङ, बेनीघाट, गजुरी गाउँपालिका तथा मकवानपुरका थाहा नगरपालिका, राक्सिराङ, र मनहरी गाउँपालिकाका साहसिक पर्यटन पारखीका लागि आकर्षक गन्तव्य बन्नेछ। जीपलाइन स्थल पुग्न धादिङको बेनीघाट, मकवानपुरको थाहानगर र मनहरी बजारबाट ३३ किलोमिटर दूरी मात्र रहेको छ।
जीपलाइनसँगै बैकुण्ठ क्षेत्रमा विभिन्न पर्यटकीय पार्कहरू निर्माण भइसकेका छन्। फोरजी कम्पनीले २०७९/८० आर्थिक वर्षमा जीपलाइन निर्माणका लागि १ करोड ९० लाख ९७ हजारको अनुमानित लागतसहितको प्रतिवेदन गाउँपालिकामा बुझाएको योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्टले जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत स्टेशन निर्माण, ब्रेकिङ सिस्टम (हार्नेस), र तार जडान सम्पन्न भइसकेको छ।
२०८० माघमा प्रकाशित ठेक्का अनुसार सन्ध्या निर्माण सेवाले ८८ लाख ५६ हजार ७६१ रुपैयाँको लागतमा २०८१ फागुन मसान्तसम्म जीपलाइन सम्पन्न गर्ने सम्झौता गरेको प्रमुख भट्टले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भइसकेको र हाल सम्झौता अनुसार सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए।
पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी परीक्षण गरिएको थियो भने दोस्रो चरणको परीक्षणपछि अन्तिम प्रमाणीकरण गरिनेछ। पहिलो चरणको परीक्षण जीपलाइन प्राविधिक एवम् प्रशिक्षक बद्री घिमिरेले सम्पन्न गरेका थिए।