हेटौँडा | नेपाली साहित्य, संगीत, कला, पत्रकारिता र समाजसेवामा विशिष्ट योगदान पुर्याएका ११ जना व्यक्तित्व हेटौँडामा सम्मानित भएका छन्। भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले शनिबार आयोजित विशेष समारोहमा उनीहरूलाई विभिन्न पुरस्कार प्रदान गरेर सम्मान गरेको हो।
यस वर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरी लाई प्रदान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ राशीको पुरस्कार सहित साहित्यिक योगदानको उच्च कदर गर्छदै सम्मान गरिएको हो । भीम विराग राष्ट्रिय संगीत पुरस्कार गायक हेमन्त शर्माले प्राप्त गरेका छन्, जबकि भीम विराग राष्ट्रिय कला पुरस्कार कलाकार भोलाराज सापकोटा लाई प्रदान गरिएको छ । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार ठाकुर बेल्वासे सम्मानित भएका छन् ।
प्रतिष्ठानले नेपाली भाषा, कला, संगीत र समाजसेवामा सक्रिय व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। यस वर्षको तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार महिला उद्यमी शोभा श्रेष्ठलाई १५ हजार राशीको पुरस्कार सहित महिला सशक्तीकरणमा पुर्याएको योगदानका लागि प्रदान गरिएको छ।
यस वर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरीलाई २५ हजार राशीको पुरस्कार सहित साहित्यिक योगदानको उच्च कदर गर्दै प्रदान गरिएको हो। भीम विराग राष्ट्रिय संगीत पुरस्कार गायक हेमन्त शर्माले प्राप्त गरेका छन्, जबकि भीम विराग राष्ट्रिय कला पुरस्कार कलाकार भोलाराज सापकोटालाई प्रदान गरिएको छ। भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार ठाकुर बेल्वासे सम्मानित भएका छन्। त्यस्तै, भीम–मथुरा बाल प्रतिभा पुरस्कार विद्यार्थी रितिका छत्कुलीले प्राप्त गरिन्। समाजसेवा, साहित्य र संगीतका अन्य क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पनि विभिन्न पुरस्कारद्वारा सम्मानित गरिएको छ।
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य पुरस्कार २०८१ अन्तर्गत समाजसेवी र साहित्यिक योगदान पुर्याउने व्यक्तिहरूलाई १५ हजार राशीको पुरस्कार दिइएको छ। शिला नारी पुरस्कार २०८१ अन्तर्गत मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठलाई १५ हजार राशीको पुरस्कार प्रदान गरिएको छ। रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८१ अन्तर्गत पर्वतका कुलेन्द्र विश्वकर्मालाई २० हजार राशीको पुरस्कार सहित सम्मानित भएका छन् ।
चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार २०८१ अन्तर्गत दीपक गौतमलाई १५ हजार राशीको पुरस्कार प्रदान गरिएको छ भने मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८१ अन्तर्गत निर्मला ब्लोनलाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, सुदर्शन ढकाल १० हजार राशीको अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
साहित्य-संस्कृतिको संरक्षण अनिवार्य: नगर प्रमुख लामा
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन नगरी समग्र विकास सम्भव नभएको बताइन्। “विकास भनेको केवल भौतिक संरचना निर्माण मात्र होइन। समुदायको सांस्कृतिक तथा साहित्यिक पहिचानलाई जोगाउनु अत्यावश्यक छ,” उनले भनिन्।
त्यस्तै, हेटौँडा-४ का वडाध्यक्ष नवीन सिग्देलले पनि साहित्यिक गतिविधिहरूको निरन्तरता आवश्यक रहेको बताए। “साहित्य र संस्कृतिले मात्र समाजलाई सही दिशा दिन सक्छ। यी क्षेत्रहरूलाई प्रवर्द्धन गर्न निरन्तर कार्यक्रम आयोजना गर्नु अहिलेको आवश्यकता हो,” उनले जोड दिए।
सम्मान तथा पुरस्कार वितरणपछि गायक हेमन्त शर्मा र लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरे। नेपाली संगीतप्रेमीहरूका लागि विशेष रूपमा आयोजित यो सांगीतिक कार्यक्रममा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए।
२०५९ सालमा स्थापित भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली साहित्य, संगीत र कलाको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ। हरेक वर्ष, विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानित गर्दै आइरहेको यो प्रतिष्ठानले नेपाली समाजमा सृजनशीलताको सम्मान अभिवृद्धि गरिरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले बताए । उनका अनुसार, “नेपाली साहित्य, संगीत, कला र पत्रकारितालाई उच्च स्थान दिलाउन तथा नयाँ पुस्तालाई प्रेरित गर्न यो सम्मान कार्यक्रम महत्वपूर्ण छ।”
प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यसहित गरिएको यो कार्यक्रम कलासाधकहरूको सम्मानसँगै सांगीतिक उत्सवका रूपमा लिईएको प्रतिष्ठानका सचिव छवि अनित्य बताउँछन् ।
हेटौँडामा शनिबार आयोजित यो सम्मान समारोहले नेपाली साहित्य, कला र संगीतको महत्त्वलाई पुनः उजागर गर्दै सर्जकहरूको योगदानको उच्च कदर गरेको छ। साहित्य, संगीत र संस्कृतिको उज्यालो विरासतलाई बचाइराख्न यस्ता कार्यक्रमहरूको निरन्तरता जरुरी रहेको प्रतिष्ठानले जनाएको छ।