सुनसरी / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सफल पार्न सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । सुनसरीको धरान, इटहरी र इनरुवामा कम्पनी अपरेटिङ बेस स्थापना गरी सेना परिचालन गरिएको हो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी थिइन् । स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ ।
सुनसरीमा सेनाले गस्ती सुरु गरेसँगै शान्ति सुरक्षामा कडाइ गरिएको छ । सुनसरीको धरान , इटहरी नेपाली सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
स्थानीय निर्वाचनको सुरक्षाका लागि सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडि, बर्जु, देवानगन्ज गाउँपालिकामा नेपाली सेनाले पेट्रोलिङ गस्ती थालेको नेपाली सेनाको कृष्णदल गण इटहरीले जनाएको छ ।