सुनसरी / लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ ।
झापाको भद्रपुर नगरपालिका- १० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारि–चैतुपारि जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो पुल बाढीले बगाउदा मानिसको ज्यान भने गएको छैन ।
त्यस्तै,झापाको गौरीगन्ज गाउँपालिका-१ कुन्जीबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ ।
पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आउ–जाउमा रोक लगाइएको छ । यता गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका दुई सय ८९ परिवारमध्ये एक सय ६४ परिवार घर फर्किएका छन् ।
यता,मोरङको रङ्गेली नगरपालिका–२ मङ्गलबारेस्थित विराटनगर–रङ्गेली सडकखण्डको कल्भर्ट बाढीले बगाएको छ । सिँचाईका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।
विराटनगर–रङ्गेली सडकखण्ड हुँदै दैनिक सयौँ सवारीसाधन सञ्चालन हुने गरेका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जस्ता विभिन्न जिल्लामा आएको अविरल वर्षाका कारण मानिसको जनजीवन प्रभावित परेको छ ।