सुनसरी / रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ।
अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका- ६ निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो । गत सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताए । घट्नास्थल प्रहरी ४६ मिनेटपछि पुगेको थियो । ढकाललाई एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा करिब ८-१० मिनेटपछि मृत्यु भएको थियो ।
छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिएको छ । ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए । उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको शवलाई हिजो शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।- रासस



