सुनसरी | झापाको मेचीनगर नगरपालिका- १२ पीपल डाँगीस्थित मेची लोकमार्गमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ११ः२५ बजेतिर मेचीनगर – १२ पीपल डाँगीस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका-४ मा बस्ने ४५ वर्षीय विष्णु थापा र झापाको कन्काई नगरपालिका- ४ मा बस्ने ३८ वर्षीय कृष्णप्रसाद सिग्देल रहेका छन् । दुर्घटनामा उनीहरू दुवैजना गम्भीर घाइते भएकाका उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
३३५० नम्बरको मोटरसाइकलमा पछाडि सवार ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।