सुनसरी / इटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर जुध्दा तीनजनाको मृत्यु भएको छ ।
इटहरी १० स्थित विराटनगर लाइनमा शुक्रबार साँझ विराटनगरबाट इटहरी आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगर जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना भएको हो ।
इलाका प्रहरी प्रहरी इटहरीका अनुसार दुर्घटनामा प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका- १ मा बस्दै आएका अन्दाजी ३० वर्षीय अर्जुन लुइँटेलको मृत्यु भएको हो ।
यस्तै, को ४ प १४१० नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगर- १५ बस्ने अन्दाजी ४० वर्षीय राजन राई र सोही स्थानमा बस्ने अन्दाजी ३२ वर्षीय शम्भु राईको मृत्यु भएको हो । तीनैजनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिका कारण एकआपसमा ठक्कर भइ तीनजनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।



