सुनसरी / विराटनगर महानगरपालिका- ८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका- ४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको हो । खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनी अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेका थिए ।
तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको थियोे । बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मंगलबार साँझ मृत्यु हो ।
कारागारका अनुसार खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो । पछिल्लो समय खाना रुची नहुने समस्या पनि थपियो । मृतकको शव कोसी अस्पतालमै राखेर आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको छ ।