विराटनगर- प्रदेश नम्बर १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ। ०७४ सालमा मोरङको पथरीशनिश्चरे-२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश नम्बर १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखि नै घाटामा चल्दै आएको छ।
तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन्।
जैविक मल उद्योग काठमाडौँले उपत्यका बाहिर प्रदेश नम्बर १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो।प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ।
मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो।
तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए।
पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आउनुभएको थियो।
तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग संकटमा परेको छ। सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउनुहुन्छ। जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए।



