सुनसरी / विराटनगर बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
आज सोमबार विहान राष्ट्र बैंकको गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाए र बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै विहीबार देखि नै उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।
सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिएका छन् । बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलन गरिरहेका छन् ।
एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २- २ प्रतिशत कायम गर्नुपर्नेलगायत उद्योगीहरूको माग रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।



