सुनसरी / प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि इटहरीमा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ ।
इटहरीमा विगत १० वर्ष अगाडि देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा र स्मरण गर्दै मनाउने गरिएको छ ।
भेषजा काफ्लेको संयोजकत्वमा आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताका रुपमा संस्कृति विज्ञ प्रा.डा.धनबहादुर कुँवरले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान लगायतका विषयमा चर्चा गरेका थिए ।
पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजायर घोडामा सवार गराउँदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्याली निकालियो । र्यालीमा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए ।
र्यालीपछि आयोजित सभालाई प्रमुख वक्ता कुँवर सहित पुर्व मन्त्री रामकुमार सुब्बा, इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, प्रा.डा.बद्रीविशाल पोखरेल, लक्ष्मी थेवे लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।