सुनसरी / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले बैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ ।
गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगरपालिका क्षेत्रभित्रमा आगामी वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिएका छन् ।
ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ ।
केही साताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए ।
विराटनगर कोसी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताएका छन् ।
त्यसैगरी, महानगरपालिकाले वैशाख १ देखि नै सार्वजनिक स्थलहरूमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न समेत निषेध गरेको छ ।