सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निजी जग्गामा बनेको घर भत्काइदिने धम्की दिएका छन् ।
साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको रोशन तथा रोजिना अधिकारीको जग्गामा दलबलसहित गएर वृक्षरोपण गरेका थिए । तर, अदालतले उक्त जग्गामा वृक्षरोपण नगर्न आदेश दिएको थियो ।
सोमबार साम्पाङले सो क्षेत्रमा पुगेपछि उनी र जग्गाधनीबीच विवाद भएको थियो । जग्गाधनी रोजिनाले अदालतको पत्रसमेत देखाउँदै यो आफ्नो निजी जग्गा भएकाले रोपिएका बिरुवा उखेलिदिने बताएकी छिन् ।
रोजिनाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । जग्गाधनी रोजिनाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै साम्पाङलाई थर्काएको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ भाइरल भएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेखेका हुन् ।
साम्पाङले फेसबुक स्टाटस लेख्दै आफूमाथि अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ । सो भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।