सुनसरी : रामधुनी नगरपालिका -७ स्थित कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
शुक्रबार दिउँसो साढे १ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २१ प ५८१० नम्बरको स्कूटर र बिपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४० प ३०३१ नम्बरको स्कूटर एकापसमा ठक्कर भइ दुर्घटना भएको हो । दुर्घटनामा धरान ११ बस्ने ४१ वर्षीया दुर्गाकुमारी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
३०३१ नम्बरको स्कूटर चालक धरान ११ बस्ने ४८ वर्षीय ज्ञानप्रकाश राईले चलाएको स्कूटरमा सवार उनी गम्भीर घाइते भएकी थिइन् । उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रकाश सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, ५८१० नम्बरको स्कूटर सुनसरीको बराहक्षेत्र नगरपालिका २ बस्ने ४२ वर्षीय प्रताप मगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुवै स्कूटर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।