सुनसरी / भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार रङ्गशालाको चाबीे हस्तान्तरण गरेका ह्न ।
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको रु १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । रङ्गशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।
सुविधा सम्पन्न रङ्गशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किरातले बताए ।
करिब पाँच हजार दर्शक अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
सुविधासम्पन्न रङ्गशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल अल्ट्रा धाविका मीरा राई, ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायत विभिन्न खेलका खेलाडी भोजपुरबाट उत्पादन भएका थिए ।