इटहरी : इटहरीमा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ । प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि भव्यताका साथ मनाइएको हो ।
इटहरीमा विगत ११ वर्ष अगाडि देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा र स्मरण गर्दै मनाउने गरिएको छ । शुक्रबार इटहरी पश्चिम ट्याम्पो स्टेन्डमा आयोजना गरीएको कार्यक्रममा प्रमुख बक्ताका रुपमा डा.जगमान गुरुङ्गले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान लगायतका विषयमा चर्चा गरे ।
पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजाएर घोडामा सवार गराउँदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्याली निकालिएको थियो । र्यालीमा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए । र्यालीपछि आयोजित सभालाई प्रमुख वक्ता गुरुङ्ग सहित पुर्व मन्त्री रामकुमार सुब्बा , प्रा.डा.बद्रीविशाल पोखरेल लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा केही समय अघि इटहरीमा “पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा भुमिका” बिषयमा भएको स्कुल र कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने वक्ताहरुले आफ्नो प्रस्तुति दिएका थिए । सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पदाधिकारी, विभिन्न पेशा व्यवसायका मानिसहरुको सहभागिता रहेको थियो ।