भोजपुर – विकास योजनाका विषयमा नागरिकसँग भोजपुरको रामप्रसाद राई गाउँपालिकाले अन्तरक्रिया सुरु गरेको छ ।
गाउँपालिकाले नवप्रबर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम थालेको हो । पालिकाले वडागत रुपमा नै कार्यक्रम सुरु गरेको हो ।
आइतवार वडा नम्वर १ देखि ४ सम्मलाई लक्षित गर्दै कार्यक्रम गरिसकेको पालिकाले सोमवार वडा नम्वर ५ देखि ८ सम्मका लागि अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने एक सय चार वटा स्थानीय तहहरुलाई संघीय मन्त्रालयले प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ योजना संचालनका लागि थप गरिदिएको थियो । सोही अनुसार रामप्रसाद राई गाउँपालिकाले पनि थप रकम पाएको हो ।
प्राप्त भएको थप रकमलाई कुन कुन योजनामा प्रयोग गर्ने भन्ने बिषयमा वडा तहका नागरिकहरुसँग अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम गरिएको छ । अन्तरक्रियाबाट छनौट भएका योजनाहरुमा आवश्यकता अनुसार बजेट छुट्याएर काम थालिने गाउँपालिकाले जनाएको छ ।