इटहरी | भैँसी पालक किसानहरू घट्दै गएपछि भैँसी पालनतर्फ आकर्षित गर्न इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ ।
दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सुनसरी र मोरङ जिल्लामा भैँसी पालन गर्दै आएका किसानहरूबीच प्रतिस्पर्धा आयोजना गरेको छ ।
३० जना किसानका ५० वटा भैँसी प्रतियोगितामा सहभागि गराइएको थियो । प्रतियोगितामा इटहरी ३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै, सुन्दरहरैचा ५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ ।
यसैगरी सुन्दरहरैँचा ५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए ।
भैँसीको स्वास्थ्य, रूप, जिउडाल, जात, दुधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए । प्रतियोगिताका विजेता भैँसी धनी किसानहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिए ।
पछिल्लो समय किसानले भैँसी पाल्न छाडेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए । भैँसी पालक किसानहरूलाई प्रोत्साहन गर्न वर्षेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए ।