सुनसरी | सामुदायिकस्तरमा रहेका छाडा कुकुरबाट हुने विभिन्न रोग र त्रासको समस्याबाट मुक्त गराउन सुनसरीको झुम्कामा ‘कुकुर बन्ध्याकरण शिविर’ सम्पन्न भएको छ।
सामुदायमा छाडा कुकुरको संख्या अत्याधिक भएकाले नियन्त्रणका लागि रामधुनी नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले शनिवारदेखि मंगलवारसम्म झुम्कामा शिविर सञ्चालन गरेको थियो ।
कुकुर नियन्त्रणका लागि गरिएको शिविरमा रामधुनी नगरपालिकामा २ सय २५ वटा कुकुरको बन्ध्याकरण गरिएको पशु सेवा शाखाका पराजुलीले बताए। नगरपालिकाको ३ लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाको १ लाख ५० हजार लागतमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोग रहेको थियो। समुदायमा छाडा कुकुरका कारण रेबिज बढ्ने, मानिसलाई हिँड्डुल गर्न समस्या हुने, सवारीसाधनमा दुर्घटना हुने लगायतका समस्या बढ्दो छन्। त्यसैले कुकुरको प्रजनन घटाएर संख्यामा कमी ल्याउन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले बताए।
शिविरमा शल्यक्रिया गरेर पशु चिकित्सकहरूले कुकुर बन्ध्याकरण गरेका थिए। पछिल्लो समय सामुदायमा छाडा कुकुर नियन्त्रणका लागि विष सेवन गराएर र कुटेरसमेत मार्ने गरिएको पाइएको छ। कुकुरलाई विष सेवन गराएर वा कुटेर मार्न नहुने र वैज्ञानिक ढंगले कुकुरको व्यवस्थापन गर्न शिविर आयोजना गरिएको रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले बताइन्।
शिविरमा रामधुनी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक, नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, क्लबका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो।