कृषीमनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुसार असारदेखि जेठ मसान्तसम्म ४० लाख ४४ हजार ४९६ लिटर दूध बिक्री हुँदा उक्त रकम गाउँमा भित्रिएको हो ।

दूधको भुक्तानी नियमित हुन थालेपछि मनहरीमा पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत वर्ष कात्तिकदेखि किसानले उत्पादन गरेको दूधको बिक्री तथा भुक्तानी व्यवस्थापनको जिम्मेवारी लिएको थियो । त्यसअघि किसानले जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मकवानपुरमार्फत दूध बिक्री गर्दै आएका थिए ।

जिल्ला सङ्घमार्फत भुक्तानी ढिलो हुने गुनासो बढेपछि गाउँपालिकाले हेटौँडा–१९ नेवारपानीस्थित हेटौँडा डेरी इन्डस्ट्रिज प्रालिसँग सम्झौता गरी किसानको दूध बिक्री तथा भुक्तानीको व्यवस्था मिलाएको थियो । भुक्तानी सुनिश्चित भएपछि दूध उत्पादन र सङ्कलन दुवै बढेको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाका अनुसार साउनमा तीन लाख ४२ हजार ६०६ लिटर, भदौमा तीन लाख ३२ हजार १६३ लिटर, असोजमा तीन लाख ३६ हजार १८९ लिटर, कात्तिकमा तीन लाख ३४ हजार ४९५ लिटर दूध बिक्री भएको छ । यस्तै मङ्सिरमा तीन लाख ५१ हजार ३०० लिटर, पुसमा तीन लाख ८८ हजार ८२४ लिटर, माघमा तीन लाख ६९ हजार ८२९ लिटर, फागुनमा चार लाख एक हजार ७४९ लिटर, चैतमा तीन लाख ८९ हजार ३३० लिटर, वैशाखमा तीन लाख ९२ हजार ३३० लिटर र जेठमा चार लाख पाँच हजार ६८९ लिटर दूध बिक्री भएको छ ।

मनहरीका नौवटै वडाबाट छवटा दुग्ध सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ । ती सहकारीमा एक हजार ४०० भन्दा बढी दुग्ध उत्पादक किसान आबद्ध छन् । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक २१ लाख ६५ हजार ६०७ लिटर दूध उत्पादन भएको थियो । भुक्तानी सुनिश्चित भएपछि दैनिक दूध सङ्कलन चार हजार ६०० लिटरबाट बढेर करिब १४ हजार लिटर पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै हुने व्यवस्था भएपछि दूध उत्पादन र पशुपालनमा उल्लेखनीय वृद्धि भएको बताए । उनका अनुसार नियमित भुक्तानीले किसानको विश्वास बढाएको छ ।

पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत प्रदीप बर्तौलाले गाउँपालिकाले उत्पादनका आधारमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिँदै आएको जानकारी दिए । चालु आर्थिक वर्षमा दूध उत्पादन अनुदानबापत ९५ लाख रुपैयाँ वितरण गरिसकिएको उनले बताए ।

उनका अनुसार सङ्घीय सरकारको ८० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा पशु बीमा कार्यक्रमसमेत सञ्चालन भइरहेकाले आगामी वर्ष दूध उत्पादन अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img